ट्रम्पले भने- म अर्को पार्टी खोल्दिनँ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले नयाँ पार्टी नखोल्ने बताएका छन्। फ्लोरिडाको ओर्लान्डोमा आयोजित कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्समा ट्रम्पले आफू नै रिपब्लिकन पार्टीको भविष्य भएको उल्लेख गर्दै नयाँ पार्टी खोल्ने योजना नभएको बताएका हुन्।

dubainepal

ह्वाइटहाउस छाडेको ६ सातापछि आइतबार पहिलो पटक  सार्वजनिक कार्यक्रममा बोल्दै ट्रम्पले नोभेम्बरको चुनावमा धाँधली भएको कुरा दोहोर्‍याए र आफ्नो हार अस्वीकार गरे।

यसअघि जनवरी ६ मा उनका समर्थकले संसद भवनमा आक्रमण गरेपछि रिपब्लिकन पार्टीभित्र ट्रम्पको तीव्र आलोचना भएको थियो। नयाँ पार्टी खोल्नेबारे ट्रम्पले नजिकका मानिसहरूसँग सल्लाह पनि गरेको समाचार सार्वजनिक गरेका थिए।

आइतबारको कार्यक्रममा भने ट्रम्पले आफूले नयाँ पार्टी नखोल्ने बरू सन् २०२४ को राष्ट्रपति चुनावमा उठ्ने संकेत गरे। ‘तिनीहरू केही समयअघि हारेका छन्,’ राष्ट्रपति जो बाइडेनको आलोचना गर्दै ट्रम्पले भने,‘ कसलाई थाहा छ र, म उनीहरूलाई तेस्रो पटक पनि हराउने निर्णय गर्न सक्छु।’

सन् २०१६ मा आफूले पहिलो पटक, २०२० मा दोस्रो पटक डेमोक्र्याटलाई हराएको ट्रम्पको भनाइ थियो। उनीविरूद्धको दोस्रो महाअभियोग प्रस्ताव माथिल्लो सदन सिनेटबाट असफल भएकाले ट्रम्पलाई सन् २०२४ को चुनावमा राष्ट्रपतिको उम्मेदवार बन्न कानुनी अड्चन छैन। रिपब्लिकन पार्टीभित्र अहिले पनि उनको पकड बलियो छ।

ओर्लान्डोको कन्फरेन्समा सहभागीहरूमध्ये ५५ प्रतिशतले २०२४ मा ट्रम्पले चुनाव लड्ने निर्णय गरे उनलाई राष्ट्रपतिको उम्मेद्वार बनाउन मत दिने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *